-प्रवीण ढकाल
सहरीकरणसँगै बढ्दो अव्यवस्थाबीच भुस्याहा कुकुरको संख्या पनि वृद्धि हुँदै गइरहेको छ । बेवारिसे कुकुरहरूको सन्त्रासले बटुवाहरूलाई हरबखत तर्साइरहेको हुन्छ । यसै पनि फोहोर व्यवस्थापन राम्रो हुने नसकेकोमा वर्षातको मौसममा दुर्गन्ध झन् बढेको छ । जथाभावी छाडा छोडिएका भुस्याहा कुकुर र फोहरमैलाको समुचित व्यवस्थापन हुन नसक्दा वर्षेनि रेबिज रोगको प्रकोप बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
अन्य समयमा भन्दा वर्षात्का बेला राजधानीको टेकु अस्पतालमा रेविजबिरुद्धको खोप लगाउन धेरै मानिस आउने गरेको पाइन्छ । अन्य मौसममा दैनिक डेढ सय देखि दुई सयजनासम्म खोप लाउन आउने गरेकोमा वर्षात्को समयमा भने त्यो संख्या बढ्ने अस्पताल बताउँछ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार राजधानीमा भुस्याह कुकुरहरूको संख्या बढ्दै गएपछि टेकु अस्पतालमा रेबिजको सुई लगाउन आउनेको संख्या बढेको हो ।
रेबिज लागिसकेपछि मानिसको मृत्यु हुने भएकाले यसलाई प्राणघातक रोग भनिन्छ । डा. पाण्डेका अनुसार रेबिज रोग बहुला कुकुर र अन्य रेबिज भाइरस भएका जनावरले टोकेमा मानिसमा सजिलै सर्छ । रेबिजको लक्षण देखिएको मानिसले टोकेमा वा आखाँमा पर्ने गरी थुकेमा पनि यो रोग सर्छ । रेबिजविरुद्धको खोप लगाउन अस्पतालमा आउनेमा अधिकांशलाई भुस्याहा कुकुरले टोकेको छ भने घरेलु कुकुर, मुसा, चमेरा र बाँदरले टोकेका केही मात्र छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअुनसार विश्वमा वार्षिक करिब साठी हजार मानिसको रेबिजका कारण अकाल मृत्यु हुने गर्छ । तीमध्ये ९० प्रतिशतको हाराहारी एसियाका छन् । नेपालमा करिब एक सयभन्दा बढीको यही रोगबाट मृत्यु हुने गर्छ । अधिकांश मृतक सहरी क्षेत्रमा बसोबास गर्ने रहेका छन् । नेपालको सहरी क्षेत्रमा बढी भुस्याहा कुकुर पाइने भएकाले ग्रामीण क्षेत्रमा रेबिज रोगको समस्या कम छ । चिकित्सकहरूका अनुसार रेबिज रोगलाई हाइड्रोफोबिया पनि भन्ने गरिन्छ । यो रोग लागेपछि पानीबाट डराउने भएकाले यसलाई ‘पानीदेखि डराउने रोग’ समेत भनिन्छ । यो रेबिज भइरसका कारण हुने रोग हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुरका अनुसार रेबिज लागेपछि मानिसको केन्द्रीय स्नायुप्रणालीमा असर गर्छ । ‘रेबिज भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि यसले बिस्तारै दिमागमा असर गर्छ,’ डा. ठाकुरले भने, ‘कुकुर तथा अन्य जनावरले टोकेको स्थानबाट दैनिक एक मिलिमिटरका दरले भाइरस मानिसको दिमागमा जाने गर्छ । त्यसैले मानिसको मृत्यु गराउँछ ।’ उनका अनुसार नेपालका अधिकांश रेबिजपीडित कुकुरबाट संक्रमित भएका छन् । त्यसकारण यसबाट बच्न कुकुरदेखि टाढा रहनुपर्छ । कुकुर तथा रेबिज भाइरस लागेका जनावरले टोकेपछि अवस्था हेरेर तीनदेखि पाँचवटासम्म रेबिजको सुई लगाउनुपर्ने हुन्छ ।
रेबिज नियन्त्रणका लागि सबैभन्दा पहिला सहरी क्षेत्रका छाडा तथा बहुला कुकुरलाई नियन्त्रण गर्ने आवश्यक रहेको चिकित्सक बताउँछन् । डा. पाण्डेका अनुसार सहरका भुस्याह कुकुरलाई नियन्त्रणमा नलिई काठमाडौं तथा अन्य क्षेत्रमा रेबिजको रोकथाम गर्न असम्भव छ । त्यस्तै, मन्दिर छेउछाउमा देखिने बाँदरलाई नजिस्काउने तथा सकेसम्म बादरहरूको छेउछाउमा नै नपर्ने गर्दा पनि केही समस्या समाधान हुन सक्छ । पाल्तु कुकुरलाई नियमित रूपमा रेबिजविरुद्ध खोप लगाउनु, रेबिजको विषयमा सबैलाई जानकार बनाउनु आवश्यक छ । रेबिजबाट बढीजसो बच्चाहरू प्रभावित हुने भएकाले उनीहरूलाई कुकुर तथा अन्य पाल्तु जनावरको छेउछाउमा सकेसम्म नराख्नु नै राम्रो हुन्छ ।
कुकुर तथा अन्य जनावरले टोकेलगत्तै वा कोतरेलगत्तै रेबिजविरुद्धको खोप लगाइहाल्नु राम्रो हो । डा. पाण्डेका अनुसार टोकेको वा कोतरेको स्थानमा रेबिजविरुद्धको खोप लगाउनुपूर्व मजाले साबुनपानीले १० मिनेटसम्म सफा गर्नुपर्छ । अवस्था हेरेर मानिसलाई तीनदेखि पाँचवटासम्म खोप लगाइन्छ । खोप पाखुरा तथा शरीरका अन्य भागमा लगाउने गरिन्छ । रेबिजको खोप टेकु अस्पतालमा नि:शुल्क पाइन्छ । साथै, बहुला कुकुरले नै टोकेको छ र सो कुकुर पूर्णरूपमा भाइरसग्रस्त हो भने त्यस्ता व्यक्तिलाई इन्डलोविलियन दिनुपर्छ । यो कुकुरले मानिसको जुन ठाउँमा टोकेको छ, ठीक त्यहीँ लगाइने खोप हो ।
लक्षण
– कुकुर तथा जनावरले टोकेको स्थानमा झमझमाउन थाल्छ
– रुघाखोकीसहित ज्वरो आउने, टाउको दुख्ने तथा थकाइ लाग्ने हुन्छ
– पीडित व्यक्ति पानीदेखि असाध्यै डराउन थाल्छन्
– घाम तथा हावासँग पनि डराउन थाल्छन्
– रेबिज रोगको जोखिमपूर्ण अवस्थामा मानिसलाई प्यारालाइसिस तथा श्वासप्रश्वासको समस्या आउने गर्छ ।
No comments:
Post a Comment