प्रस्तुति : प्रवीण ढकाल
dhakalprabin@gmail.com
डा. प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ, वीर अस्पताल
'अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटुरोगको कारक हो । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धुम्रपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटुरोग बढ्नाका कारण हुन् ।
नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण्ा, खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण्ा मुटुरोगीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । यसका साथै यो रोगले पछिल्ला समयमा महिलालाई पनि सताउन थालिसकेको छ ।
नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगको रूपमा लिइएको मुटुरोगका कारण वर्षेनी लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वभर नै मुटुरोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभर मनाउँदै आइरहेको छ । महासंघले यस वर्ष भने २९ सेप्टेम्बरमा यो दिवस मनाउन लागेको हो । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाउन थालिएको छ । मानिसको खानपिन तथा जीवनशैलीमा आएको परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मुटुरोगीका संख्या नेपाललगायतका विकासोन्मुख देशहरूमा दिनानुदिन बढिरहेको छ । विश्वमा नै मुटुरोगीहरूको संख्यामा बढ्दै गएको अवस्थामा नेपालमा पनि मुटु बचाउन हरेक वर्ष मुटुरोग दिवसको अवसरमा साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइने गरिएको तथा अन्य दिनहरूमा चेतनामूलक अन्तरक्रियाहरू गरिँदै आइएको छ ।
महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षहरूमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्तिहरू धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटुरोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायतका देश बढी जोखिममा रहेको पाइन्छ । चार-पाँच वर्षअघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, आजभोलि १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटुरोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटुरोगका कारणलाई जन्म दिइरहेकाले मुटुरोगले जसलाई पनि आक्रमण गर्न सक्दछ । हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटुरोगीको संख्या बढाइरहेको देखिन्छ ।
विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभर वर्षेनी एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ । मुटुरोगमा पनि हृदयघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटुरोगका कारण भयावह स्थिति आउन सक्ने स्थिति देखिएकाले मुटु बचाउनका लागि अहिलेदेखि नै सबै नागरिक सचेत हुन आवश्यक देखिन्छ । सरकार तथा चिकित्सकले पनि मुटु बचाउन एक दिन मात्र होइन वर्षभरि नै मुटु जोगाउने अभियान चलाउनुपर्छ ।
मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटुरोगको कारक हो । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वाकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धुम्रपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटुरोग बढ्नाका कारण्ा हुन् । पछिल्ला वर्षमा महिलामा पनि मुटुरोग बढ्न थालेपछि विश्वभरमा थप अर्को चिन्ता थपिएको छ । पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । महिला शरीरमा मात्र पाइने 'फिमेल हर्मोन'ले मुटुरोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुकारोग देखिन थालेको छ । महिलामा पनि तनाव, धुम्रपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा मुटुका समस्या बढिरहेको हो । महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हर्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने भए पनि फेरिँदो जीवनशैली र आरामको अभावमा समस्या बढ्दै गएको देखिन्छ । महिलामा पनि मुटुरोगको समस्या बढ्दै गएपछि विश्वभरि 'गो रेड फर वुमन' अर्थात् 'महिलाका लागि रातो संकेत' अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको छ । महिलालाई मुटुरोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो ।
आममानिसमा मुटुरोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेलमात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटुका अन्य रोगहरूमा पनि रहेका छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको पाइन्छ । तर, तीमध्ये चिकित्सकले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसम्बन्धी मुटुरोग भनेर तीन भागमा बाँडिएको छ । नेपालमा मुटुरोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् ।
मुटुरोगका प्रमुख लक्षण
छातीको बीचभागमा पीडा हुनु
कुनै काम वा परिश्रम गर्दा दम बढ्नु
खुट्टाहरू सुन्निनु
मुटु बेतालले धड्किनु
चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु
बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु
जिब्रो, औंलाका टुप्पाहरू नीलो हुनु
मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै ल्रक्षणनहुन पनि सक्छ । यी रोग परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारण्ाबाट हुन्छ । मुटुरोग थोरै लक्षण तर धेरै खतरा रोगमा पर्छ ।
मुटुरोगबाट बच्ने उपाय
धुम्रपान नगर्ने
मोटोपना घटाउने
नियमित व्यायाम गर्ने
सन्तुलित आहार खाने
मानसिक तनावबाट मुक्त रहने
खानपिन र जीवनशैलीमा सुधार ल्याउने
प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने
छिटोछिटो दौडिने र व्यायाम गर्ने
उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्टेरोलजस्ता रोगको
उपचार समयमा नै गराउने
घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्ने
नुन कम खाने
No comments:
Post a Comment