सय वर्षमा जनसंख्या एक करोड दश लाख ८२ हजार ६० बढ्यो
पुरुषभन्दा महिलाको संख्या सात लाख ६५ हजार नौ सय ४७ बढी
देशभरमा ४७ लाख ६७ हजार एक सय ९६ घरमा ५६ लाख ५९ हजार ९ सय ८४ परिवार
दुई करोड २० लाख ९५ हजार २२ जना (८३ प्रतिशत) ग्रामीण क्षेत्रमा र ४५ लाख २५ हजार सात सय ८७ जना (१७ प्रतिशत) सहरी क्षेत्रमा
२३ जिल्लाको जनसंख्या वृद्धिदर घट्यो
नयाँ पत्रिका
काठमाडौं, १० असोज
दश वर्षमा नेपालमा करिब ३५ लाख जनसंख्या बढेको छ । सरदर वार्षिक जनसंख्या वृद्धिदर भने २.२५ बाट १.४ प्रतिशत अर्थात् आधा घटेको छ ।
०६८ सालको जनगणनाअनुसार जनसंख्या दुई करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले १० वर्षअघिको तुलनामा १४.९९ प्रतिशत जनसंख्या बढेको तथ्यांक मंगलबार सार्वजनिक गरेको हो ।
विभागको प्रारम्भिक नतिजाअनुसार दश वर्षमा ३४ लाख ६९ हजार तीन सय ८६ जना थपिएका हुन् । यसअघि ०५८ को जनगणनामा नेपालको जनसंख्या दुई करोड ३१ लाख ५१ हजार चार सय २३ थियो ।
विभागको प्रारम्भिक नतिजामा पुरुषभन्दा महिला बढी रहेको उल्लेख छ । कुल जनसंख्यामा पुरुषको संख्या एक करोड २९ लाख २७ हजार चार सय ३१ छ । महिलाको संख्या भने एक करोड ३६ लाख ९३ हजार तीन सय ७८ छ । 'कुल जनसंख्यामा पुरुष ४८.५६ प्रतिशत र महिला ५१.४४ प्रतिशत रहेको छ,' सार्वजनिक तथ्यांकमा उल्लेख छ, 'पुरुषभन्दा महिला सात लाख ६५ हजार नौ सय ४७ जनाले बढी छन् ।'
दश वर्ष अवधिमा सबैभन्दा बढी तराईमा २१ लाख ३८ हजार एक (१९.०७ प्रतिशत) र सबैभन्दा कम हिमाली क्षेत्रमा एक लाख सात हजार चार सय ९५ (६.३७ प्रतिशत) जनसंख्या थपिएको छ । पहाडमा भने १२ लाख २३ हजार आठ सय ९० (११.८६ प्रतिशत) जनसंख्या थपिएको तथ्यांक विभागले जनाएको छ । जनसंख्या वृद्धिदर भने हिमाली क्षेत्रमा सबैभन्दा कम ०.६२, तराईमा सबैभन्दा बढी १.७५ प्रतिशत र पहाडमा १.१३ प्रतिशत छ ।
यसैगरी, जनघनत्व भने औषतमा एक सय ५७ जना प्रतिवर्ग किलोमिटरबाट बढेर एक सय ८१ पुगेको तथ्यांकमा उल्लेख छ । जनघनत्व सबैभन्दा धेरै तराईमा तीन सय ९२ जना प्रतिवर्ग किलोमिटर, सबैभन्दा कम हिमाली क्षेत्रमा ३५ जना प्रतिवर्ग किलोमिटर र पहाडमा एक सय ८७ छ । अघिल्लो जनगणनाको तथ्यांकअनुसार तराईमा तीन सय ३०, पहाडमा एक सय ६७ र हिमालमा ३३ जनघनत्व थियो ।
तथ्यांकअनुसार देशभरमा ४७ लाख ६७ हजार एक सय ९६ घरधुरी छन् । ती घरमा ५६ लाख ५९ हजार नौ सय ८४ परिवारको बसोवास रहेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा भने परिवार संख्या ४२ लाख ५३ हजार दुई सय २० थियो । यस अवधिमा १४ लाख ६ हजार सात सय ६४ परिवार थपिएको तथ्यांकमा उल्लेख छ ।
दश वर्षमा प्रतिपरिवार सदस्य संख्यामा भने कमी आएको देखिएको छ । ०६८ को जनगणनामा औषतमा प्रतिपरिवार ४.७ जना सदस्य छ । अघिल्लो गणनामा भने ५.४४ थियो । सहरी क्षेत्रको परिवारमा सरदर ४.०५ जना र ग्रामीण क्षेत्रमा ४.८६ जना रहेको विभागले जनाएको छ । यो संख्या दश वर्षअघि क्रमशः ४.८६ र ५.६५ जना थियो ।
'कोही नछुटौँ, कोही नदोहोरिऔँ' भन्ने नारासहित सरकारले ३ देखि १३ असारसम्म जनगणना गरेको थियो । जनगणना-०६८ मा साढे ३४ हजार गणक, साढे आठ हजार सुपरीवेक्षक, तीन सय ५० इलाका सुपरीवेक्षक र एक हजार व्यवस्थापनसम्बन्धी कर्मचारी परिचालन गरिएको थियो ।
नेपालमा सय वर्षयता हरेक १० वर्षको अन्तरमा जनगणना गरिँदै आएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सुरु भएको सय वर्ष पुगेको अवसरमा यस वर्षको जनगणनामा विभिन्न नयाँ प्रविधिको प्रयोग गरेको थियो । नेपालमा विसं १९६८ देखि जनगणना सुरु भएको हो । सुरु वर्षको गणनामा जनसंख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो । सय वर्ष अवधिमा नेपालको जनसंख्या एक करोड दश लाख ८२ हजार ६० बढेको छ ।
काठमाडौंमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम जनसंख्या
विभागले सार्वजनिक गरेको तथ्यांकमा देशका ७५ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंमा र सबैभन्दा कम मनाङमा रहेको देखाइएको छ । काठमाडौंको जनसंख्या १७ लाख ४० हजार नौ सय ७३ छ । अघिल्लो गणनामा भने १० लाख ८१ हजार आठ सय ५४ जनसंख्या थियो ।
काठमाडौंमा दुई लाख ४२ हजार दुई सय ७४ घर तथा भवन रहेका र ती घर तथा भवनमा चार लाख ६९ हजार एक सय ४५ परिवार बसोवास गरेको तथ्यांक विभागले जनाएको छ । दश वर्षअघिको गणनामा भने एक लाख २२ हजार सात सय ९५ घर तथा भवनमा दुई लाख ४२ हजार दुई सय ७४ परिवार थिए ।
मनाङ जिल्लाको जनसंख्या सबैभन्दा कम ६ हजार पाँच सय २७ छ । यो दश वर्षअघिको भन्दा तीन हजार ६० जनाले कम हो । मनाङमा जनसंख्या ३.८४ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । त्यस्तै मनाङमा एक हजार चार सय ९५ घर तथा भवनमा एक हजार तीन सय ६३ परिवारको बसोवास छ । दश वर्षअघि भने एक हजार तीन सय ६३ घर तथा भवनमा एक हजार पाँच सय ५५ परिव्ार रहेको थियो । मनाङका दुई सय ६२ जना बिदेसिएको तथ्यांकमा देखाइएको छ ।
जनगणनाअनुसार काठमाडौंपछि मोरङ, रुपन्देही, झापा र कैलाली जिल्लालाई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला हुन् । मोरङमा नौ लाख ६४ हजार सात सय नौ, रुपन्देहीमा आठ लाख ८६ हजार सात सय ६, झापामा आठ लाख १० हजार ६ सय ३६ र कैलालीमा सात लाख ७० हजार दुई सय ७९ जनसंख्या छ । त्यस्तै, कम जनसंख्या भएका जिल्लामा मनाङपछि मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । मुस्ताङमा १३ हजार सात सय ९९, डोल्पामा ३६ हजार सात सय एक, रसुवामा ४३ हजार सात सय ९८ र हुम्लामा ५१ हजार आठजना रहेको तथ्यांकमा उल्लेख छ ।
विकास क्षेत्रका आधारमा सबैभन्दा धेरै जनसंख्या मध्यमाञ्चलमा र सबैभन्दा कम सुदूर पश्चिमाञ्चलमा रहेको पनि विभागले जनाएको छ । मध्यमाञ्चल विकास क्षेत्रमा ९७ लाख १३ हजार सात सय दुईजनाको बसोवास छ । यो कुल जनसंख्याको ३६.५ प्रतिशत हो । अघिल्लो जनगणनामा यो प्रतिशत ३४.६९ थियो । सबैभन्दा कम रहेको सुदूरपश्चिममा २५ लाख ४३ हजार तीन सय ४९ जनसंख्या छ ।
मध्यमाञ्चालपछि पूर्वाञ्चलमा ५८ लाख ३४ हजार एक सय ८२, पश्चिमाञ्चलमा ४९ लाख ४५ हजार एक सय ९० र मध्यपश्चिमाञ्चलमा ३५ लाख ८४ हजार तीन सय ८६ जनसंख्या छ ।
कुल जनसंख्याको दुई करोड २० लाख ९५ हजार २२ जना (८३ प्रतिशत) जनसंख्या ग्रामीण क्षेत्रमा र ४५ लाख २५ हजार सात सय ८७ जना (१७ प्रतिशत) जनसंख्या सहरी क्षेत्रमा बसोवास गर्ने गरेका छन् ।
बिदेसिनेको संख्या बढ्यो
नेपालबाट विदेश जाने जनसंख्यामा वृद्धि भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार १९ लाख १७ हजार नौ सय तीन नेपाली बिदेसिएका छन् । यसअघिको गणनामा सात लाख ६२ हजार एक सय ८१ मानिस बिदेसिएको तथ्यांक थियो ।
बिदेसिएकामध्ये ८६.७ प्रतिशत पुरुष (१६ लाख ६३ हजार दुई सय ३७) र १३.३ प्रतिशत महिला (दुई लाख ५४ हजार ६ सय ६६) छन् । यसरी बिदेसिनेमा ग्रामीण क्षेत्रका ८५.३८ प्रतिशत (१६ लाख ३७ हजार चार सय ६९) र सहरी क्षेत्रका १४.६२ प्रतिशत (दुई लाख ८० हजार चार सय ३४) छन् ।
२३ जिल्लाको जनसंख्या वृद्धिदर घट्यो
तथ्यांक विभागका अनुसार अघिल्लो जनगणनाको तुलनामा यस वर्षको जनगणनामा २३ जिल्लाको जनसंख्या वृद्धिदर घटेको छ । ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लामजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी र अर्घाखाँचीमा जनसंख्या वृद्धिदर घटेको हो ।
No comments:
Post a Comment